शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

जनताको जिम्मेवारी

Advertisement
* भिष्म जोशी
धेरै पर नजाऔँ ०४६ सालको आन्दोलन यता भनौँ वा आज भन्दा करिब ३४/३५ वर्ष यता हेर्ने हो भने नेपालमा अस्थिरतै अस्थिरता मात्र देखिन्छ । त्यो अस्थिरता केवल राजनीतिमा मात्र होइन, समाजका हरेक क्षेत्रमा देखिन्छ । राजनीति बिग्रियो भने हरेक चिज बिग्रिन्छ या बिग्रिन्न त्यो अर्कै पाटो भयो तर सबैको केन्द्र बिन्दु राजनीति बनाइयो । देशको राजनीति जता घुम्यो त्यतै समाजका हरेक पाङ्ग्राहरू घुम्दै गए । समाजका हरेक अङ्गहरू राजनीति रुपी  मृत्युको कुवाबाट बाहिर ननिस्कने गरी किन रुमल्लियो रहे त ? किन अगाडी बढेन नेपालको रथ ? यी प्रश्नहरूको जिज्ञासा जाग्नु स्वाभाविक बनेको छ  ।
यो ३५ वर्षको अवधि भनेको समयको सानो इकाई पल, क्षण, आँखा झिम्क्याई वा मोनो सेकेन्ड होइन । यो ठुलो अवधि हो । ठुला ठुला राष्ट्रहरूले पनि एक दशक मै विकासमा कायापलट गरेका छन् । प्रत्येक ५ वर्षको योजना बनाउँदा ठुला ठुला राष्ट्रिय कार्यभारहरू सम्पन्न गरेका छन् । हामी समयले हुने परिवर्तन बाहेक किन अगाडी बढ्न सकेका छैनौ ? यसका धेरै कारण छन् । यो लेखमा किन यस्तो भयो होला भन्ने एउटा पाटोको विषयमा मात्रै बहस गरौँ त्यो हो नेपाली जनता को जिम्मेवारी के हो र के हुनुपर्दथ्याे भन्ने बारेमा ।
२०४६ सालमा जनआन्दोलन भयो । कम्युनिस्टहरूले गणतन्त्र घोषणा हुनुपर्छ भने तर आन्दोलन सम्झौतामा टुङ्गियो । निरङ्कुश राजतन्त्रको ठाउँमा संवैधानिक राजतन्त्र कायम भयो । जनताको आन्दोलन सम्झौतामा टुङ्गियो ।  राजनीतिले जनतालाई झुक्कायो वा भनौँ यो विकास क्रमको नियति थियो । बहुदलीय शासन व्यवस्थाको नाममा ०४७ देखि ०५१ सालसम्म राजा र सीमित व्यक्तिहरूले लाभ लिए जनतालाई  रनभुल्लमा पारियो ।
अब त केही होला कि भनेर आशा थपिने बेला देशमा द्वन्द्वको अवस्था सृजना भयो । माओवादीले राज्यसत्ता नै बदल्नुपर्ने, यो सत्तामा जनताको मुक्ति सम्भव नहुने भनेर राज्यसत्ताका विरुद्ध बन्दुकले लड्नु पर्छ भनेर युद्धको घोषणा गरे । राज्यले शान्ति सुरक्षा कायम गर्न भनी त्यो युद्ध नियन्त्रणको उपाय अपनायो । यी दुई वटै पक्षको चपेटामा समग्र देश पर्‍यो । हजारौँको ज्यान गयो, कैयौँ अङ्ग भङ्ग भए अनि बेपत्ता पारिए । थुप्रै भौतिक संरचना र धनको पनि क्षति भयो । राज्य वा द्वन्द्वरत पक्षले युद्ध भन्दा बाहिर सोच्न सकेनन् ।
देशले १० वर्षको समय युद्धको पिडा बोक्न विवश भयो । त्यो समयमा देशमा आशाका किरण छर्न सकिएन । जनताले त्यो दोहोरो बन्दुकबाट मुक्ति पाउन ०६२को अन्तिममा वर्षमा विद्रोह गरे । देशमा भौतिक युद्धको अन्त्य भयो । जनताका आला घाउहरू सन्चो नभए पनि जनताले अब राजनीतिको कारणले चाहिँ मरिन्न होला बाँचिन्छ भन्ने सोच सम्मको  विकास भयो । द्वन्द्व एउटा पक्ष सार्वजनिक भयो भने तत्कालीन शासक राजा कोमामा गए । माथिको उल्लेखित वर्षहरू भने घट्दै गए ३५ वर्ष बाट घटेर इतिहास आज भन्दा नजिक आइपुग्यो । १८ वर्ष पहिला यस्तो भएको थियो भन्ने अवस्था आयो  ।
राजनीतिमा सार्वजनिक भएको पक्षसँग प्लेटोले भने जस्तै ‘गुफाको कथा’ [Alegory of the cave] कायम रहिरह्यो २०७२ सम्म ।  तत्कालीन माओवादी पार्टी युद्धबाट आफूले जितेर आएको तर अरू दलहरू राजाका नोकर जस्तै भएको हुनाले आफ्नै जनताको वास्तविक प्रतिनिधि र विजेता भएको दम्भ बोकेर बसिरह्यो । ०६४ को संविधान सभामा पनि सबैभन्दा बढी सदस्य जितेर आयो । उसको यो दम्भ एक किसिमको स्वाभाविक पनि थियो किनकि उसले देशको त्यतिखेरको ग्रामीण इलाकाको ८०% भू–भागमा आफ्नो समर्थन कायम रहेको दाबी गर्थ्यो । माओवादीको यो Alegory of the cave,  उसमा आन्तरिक विभाजन भइनै रहे पनि  यथार्थतामा परिणत हुन् २०७७ पुसमा सँगैका सहयात्री अध्यक्षले माइतीघर मण्डला मा “हामी यहाँ छौ” भन्ने अवस्थामा पुर्याउदा सम्म बल्ल माओवादी बिउँझियो । तर त्यतिखेर सम्म देशका ३२ वर्ष गुज्रिसकेनछ ।
उता पट्टिको अर्को पाटो देशमा गणतन्त्रको घोषणा भयो । ०७२ वैशाखमा भुईँचालो गयो, त्यही वर्ष असोजमा अब त के भर जीवनको ? भनेर नेताहरूले सहमति गरे । संविधान सभाबाट संविधान जारी भयो । यो महत्त्वपूर्ण ऐतिहासिक उपलब्धि थियो । ०७६ मा कोरोना महामारी भयो । त्यसको शारीरिक र आर्थिक असर अहिले पनि कायम नै छ । सरर हेर्दा देशको एउटा पाटो राजनीतिका ३५ वर्ष यसरी बिते ।
यसमा जनताको जिम्मेवारी के हुनुपथ्र्याे ? जनताले के गर्नुपथ्यो र के गर्न सकेनन् भन्ने कुरा नै महत्त्वपूर्ण कुरा हो । देशको अन्तिम शक्ति त्यहाँको जनतामा निहित रहेको हुन्छ । त्यसैले देशको सार्वभौम सत्ता जनतामा निहित रहेको भनिन्छ । शक्तिको केन्द्रको रूपमा रहेको जनताको शक्तिको तेजोवध गर्ने मुख्य तत्त्व भनेकै जनताका विरोधीहरू हुन् । जनविरोधीहरूले जनतालाई हरेक कुराबाट वञ्चित गराई उनीहरूलाई कमजोर पार्ने गर्छन् । जनताको नाममा शासकहरूले गर्न हुने नहुने जे काम पनि गरिरहेका हुन्छन् । यसले जनतालाई असर परिरहेको हुन्छ ।
जनताले जबसम्म देशको वास्तविक शासक आफूहरू रहेको भन्ने कुराको अनुभूत गर्दैनन् तब सम्म देशी÷विदेशी तत्त्वहरूले त्यो देशलाई माथि उठ्न दैनन्दिन वा भनौँ आफ्ना पैताला मुनि जनतालाई पिसी रहेका हुन्छन् । हामी यस्तै यस्तै पिडा बाट गुज्रिरहेका छौ । हाम्रो देश भूगोलले ठगेको देश भन्यौ, पहाडी मुलुक भन्यौ ्र यहाँ विकास सम्भव छैन भनियो देशको समग्र जनता तराई र समथर भू–भाग मा बसाई सराई गर्न बाध्य पारिए । यो बसाइसराइको प्रवृत्ति यति झाँगियो कि अहिले तराई र समथर ठाउँ पनि सुनसान हुन थाले ।
सबै युवा अवसरको खोजीमा देशै छोडी विदेश पलाएन हुन् पुगे । हामी बसाई सर्दा सर्दा यति सरिसके छौ कि भीरको छेउमा पुगेको थाहै पाएनछौ । हिजोका दिनमा आफू बसेको गाउँ ठाउँ छोड्नु अपराध मानिन्थ्यो, जे सुकै भए पनि आफ्नै गाउँ ठाउँलाई सजाउने परम्परा थियो । पुर्खाको नासोलाई छोड्नु हुन्न भन्ने  भावना हुन्थ्यो र जनताले आफ्नो गाउँ ठाउँको मायाले गाउँ ठाउँमा त्यतिखेरका मठ मन्दिर, कला, बाटो घाँटो, पानी पधेरो ,पुल पुलेसा, कुलो, बन जङ्गल आदि निर्माणमा योगदान गर्ने गर्दथे ।  सबैभन्दा केन्द्रमा आफ्नो माटो, आफ्नो गाउँले दाजु भाइ, आफ्नो संस्कृति प्रतिको भावनात्मक माया प्रेम केन्द्रमा थियो । त्यही प्रेम र भावनाले आफ्नो गाउँ आफै बनाउनु पर्छ भन्ने सोच हाबी हुन्थ्यो । पुरानै शैलीको भए पनि सामूहिक संस्कृति र सामूहिक पहलले समाज निर्माण भइरहेको थियो ।
 आज भोली यसको ठिक उल्टा,े जसरी पनि आफ्नो बसेको ठाउँ छोड्नै पर्ने भएको छ, छोडिरहेका छौ । आज “विश्व नै गाउँ” भन्ने भावनाको विकास गरिएको छ । अरूका लागि होइन यो हामी नेपालीका लागि मात्रै लागु भएको छ । विश्वमै वैदेशिक रोजगारीमा जाने मुलुकको सूचिमा हामी अब्बल छौ । विश्व एक गाउँ हो उनीहरूको लागि हो जसको आर्थिक अवस्था कम्तीमा औसत विश्वको प्रतिव्यक्ति आय बराबर छ ।
अहिले विश्वका जनताको औसत प्रतिव्यक्ति आय करिब १४००० युएस डलर छ तर हाम्रो औसत आय १४०० पनि पुगेको छैन । हामी विश्वका गाउँलेको औसतमा पुग्न १० गुणा बढी प्रगति गर्नुपर्छ । यसको लागि अहिले कै आर्थिक वृद्धि हुने हो भने हामी कहिल्यै पनि विश्वका अन्य विकसित मुलुकको नागरिकको हैसियतमा पुग्न सक्दैनौ ।
 यसका लागि हामीले हाम्रो आफ्नो अर्थतन्त्रको बलियो आधार निर्माण गर्न सक्नु पर्दछ । आफ्नो उत्पादन बढाउन हामीले सङ्घर्ष गर्ने भनेकै हाम्रै माटोमा हो, निर्माणका कामहरू देश भित्रै गर्ने हो । पूर्वाधारको विकास यही देशको गर्ने हो । हामीलाई आवश्यक पर्ने खाद्यान्नको उत्पादन यही देश भित्र गर्ने गर्ने हो । हामीसँग हामीलाई पुग्ने पर्याप्त उब्जाउ जमिन छदै छ । हामीले सबैभन्दा पहिला स्वदेश मै बसेर आवश्यक कुरामा आत्मनिर्भर हुन सक्यौ भने मात्रै बल्ल आधारभूत आवश्यकताको पुरा गर्न बाह्य जगतासंग हात थाप्नु पर्दैन । देशले एक किसिमको प्रगतिको मार्ग समात्ने छ । नेपाल सबै कुराले सम्पन्न छ भनिन्छ तर पनि गरिबीको पगरी हामीले कहिल्यैसम्म बेरिरहने ।
यसका लागि हामी जनताले आफ्नो जिम्मेवारी पुरा गर्न सक्नु पर्दछ । यसको लागि हामीमा हरेक कुराको सचेतना हुन् अनिवार्य छ । लामो सङ्घर्ष गरेर देशले नयाँ संविधान पाएको छ । संविधान अनुकूल हुने गरी काम गर्न सक्यौ भने थुप्रै लाभहरू प्राप्त हुने अवस्थाको सृजना हुनसक्छ । यसका लागि जनताले लोकतान्त्रिक संस्कारको संस्कृतिमा बाच्ने वातावरणको अवस्था बन्नुपर्दछ । लोकतान्त्रिक संस्कृतिको निर्माण कसै अमुक नेता वा राजनीतिक पार्टीले बनाउने नभईकन यसको लागि प्रत्येक जनता सचेत र जागरूक हुनुपर्दछ । यसका लागि स्कुल कलेजको पढाइको आवश्यकता पर्दैन । यो सामाजिक सदाचारको विषय भएको हुँदा अधिकांश जनतामा सदाचारको भावना पाइन्छ र हुन्छ नै, सदाचारी बन्न जरुरी छ । हामी सदाचारमा बसेका जनताहरूले समाजका लागि अपाच्य र असुहाउँदो व्यवहार गर्नेहरूलाई सहयोग गर्नु हुँदैन । उनीहरूप्रति हामीले असहयोगको नीति अपनाउनु पर्छ ।
  हाम्रो समाजमा रातो रात पैसा कमाएर जीवनशैली फेरिएकाहरू थुप्रै भेटिन्छन् । उनीहरू नै समाजमा हाम्रा आदरणीय, अनुकरणीय र पूज्य बनेका देखिन्छन् । हामीले समाजबाट यस्तो प्रवृत्तिको अन्त्य गर्न सकेनौ भने हामी प्रगतिको बाटोमा अगाडी बढ्न सक्दैनौ । हामीले मेहनत र परिश्रम गर्ने संस्कृतिको विकास गर्न सक्नुपर्दछ । मानवीय जीवनमा उत्पादक शक्तिको कारण मात्रै आजको मानव जीवन प्रगतिको यो शिखर चुम्न पुगेको हो । जालझेल र षडयन्त्रको बाटो बाट होइन ।
हामी हरेक कुरामा पारदर्शी हुनुपर्दछ । जस्तो कि, चुनावको बेला कुनै गाउँमा पानीको लागि डेढ घण्टा हिँडेर पानी बोक्नुपर्ने अवस्था छ भने त्यो गाउँमा मलाइ जिताउनुस् म एक वर्ष भित्रै  अत्याधुनिक लिफ्ट खानेपानी पुर्याउछु भनेर कसैले भन्छ भने त्यस्ताको भ्रममा नपर्नुस् । त्यो कुरा अहिले रातारात सम्भव हुन्न । त्यसको लागि अर्बौँ रकमको जोहो गर्नुपर्दछ । हाम्रो देशसँग एउटा गाउँको टोलमा अर्बौँ रकम खर्च गर्ने क्षमता छैन । हाम्रो गाउँपालिकाहरूको विकास बजेट ४–५ करोडको हाराहारीमा हुने गर्दछ जबकि गाउँपालिका भित्र सयौँ टोलहरू रहेका हुन्छन् । यस्तै सडक, अस्पताल, विद्यालय, पार्क, पशु अस्पताल , कृषिको औजार आदि संरचना निर्माणका लागि पनि हो । भन्न खोजेको हवाई नारा दिनेहरूमा हामीले विश्वास गर्नु हुँदैन । हामीले देशको वास्तविक अर्थतन्त्रको क्षमताको सही ज्ञान राख्न सक्नु पर्छ । जबकि हामी मतदाता झुक्किन नसकौँ ।
हामीलाई अर्थतन्त्रको वास्तविक ज्ञान हुन् सक्यो भने मात्रै हामी यथार्थवादी बन्न सक्छौ । यस्तै सामाजिक जीवन पनि हामीले सहज बनाउने प्रयत्न गर्नुपर्दछ । अहिलेको हाम्रो सामाजिक जीवन आकाङ्क्षा नै आकाङ्क्षाले भरिएको छ । हामी खालि भाग्ने मानसिकतामा मात्रै बाचेका छौ । हामी जहाँ छौ त्यो ठाउँ हामीलाई प्रिय छैन । गाउँमा छौ भने सहर, सहरमा छौ भने ठुलो सहर, ठुलो सहरमा छौ भने राजधानी, राजधानीमा छौ भने विदेशमा गइरहेका छौ । यो अस्थिरता हो । यो अस्थिरताले हामीलाई कहीँ पुर्याउदैन । यसले  हामीलाई  सिस्नो लागेको बाँदर मात्रै बनाइरहेको छ । आर्थिक, सामाजिक पिडा मात्रै प्रदान गरेको छ ।
 अवसर हाम्रो आफू बसेको स्थान मै खोजौँ । अवसर अहिलेको संसारमा सहरको तुलनामा गाउँमा हजाराै गुणा बढी छ । झन् नेपाल त अवसर नै अवसरको खानी भएको मुलुक हो । यहाँ सुन खानी, फलाम खानि, तामा खानि, पेट्रोलको खानि, युरेनियमको खानी, जडीबुटीको खानि, संस्कृति र प्रकृतिको खानि, हिमालहरूको खानि, जिबजन्तुहरुको खानि मात्रै नभई अहिलेको समयको अवसरको खानि पनि हो नेपाल । त्यसैले हामीले यसको निर्माणको जिम्मा हामीले अरू कसैलाई दिनु हुन्न, देश निर्माणको जिम्मेवारी हामी स्वयम जनताले लिनुपर्छ । यसका लागि सुधार्नुपर्ने सबै कुरा सबै सुधारिनु पर्छ यसो भएन उसो भएन भनेर हुँदैन ।
 सुधार हामी आफैले गर्ने हो । यसका लागि सबैभन्दा पहिला शिक्षित हुनै पर्छ, समाजको अध्ययनका लागि दिमागको बन्द ढोका खोल्नै पर्छ । हामीले आफ्नो युग सुहाउँदो व्यक्तिगत क्षमता निर्माण गर्नै पर्छ । हामीले आर्थिक रूपले सक्षम र आत्मनिर्भर हुनै पर्छ । यी आधारभूत तत्त्व हुन् यसको लागि हामी अरूमा भर पर्‍यौ, अर्कोले गरिदिन्छ भन्यो भने उसले गरे जस्तो गरिदेला तर हामी आफूलाई ठगेको र गरिब बनाएको त्यतिखेर थाहा पाउनेछौ जतिखेर धेरै ढिला भइसकेको हुनेछ वा भनौँ हामी वर्षौँ बिते पनि जहाँको त्यही आजकै स्थितिमा टक्क अडिएकै हुनेछौ । संसारको प्रतिव्यक्ति आय लाखौँ डलर पुगेको हुनेछ ।
हामी राष्ट्र निर्माण गर्न त्याग र समर्पणको भावले अनिवार्य राज्यको र समाजको सेवा गर्नै पर्छ । आत्मनिर्भर बन्नै पर्छ । विदेशीको सेवा गरेर नेपाल कहिल्यै बन्दैन । हाम्रा समाजका राजनैतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, लगायतमा रहेका  विकारहरू हामीले नै फाल्ने हो । देशलाई स्वस्थ र सुन्दर हामीले नै बनाउने हो । गाली गरेर हुन्न र समस्याबाट भागेर पनि हुन्न । हामी आफैले राष्ट्र निर्माणको जिम्मेवारी लिनुपर्छ हाम्रो देश अरू कसैले बनाइ दिँदैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
2
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Testing

Testing

Testing period
भीमसेनको महिमा

भीमसेनको महिमा

भीमसेनको महिमा नेपालमा हिन्दू धर्ममा भीमसेन लगायत थुप्रै महिमा समाबिस्ट गरिएका  छन् । विशेष गरी नेवार व्यापारीहरूले उनलाई आफ्नो...
Test on the way

Test on the way

Here is the testing going on !!
प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

१४ माघ, २०८१ भक्तपुर। भक्तपुर पुगेर प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ प्रधानमन्त्र...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search