
१० माघ, काठमाण्डौं – काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा पार्किङ निषेध गर्ने निर्णय गरेको बिरोधमा व्यवसायीहरू दोस्रो दिन पनि आन्दोलित भएका छन् ।
महानगरले मंगलवारदेखि लागू हुनेगरी धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेको थियो ।
व्यवसायीहरुले महानगरले व्यवसायीहरुसँग समन्वय र पार्किङको विकल्प बिना एकतर्फी रुपमा निर्णय गरेको भन्दै तत्काल निर्णय फिर्ता लिन माग गरेका हुन् ।
व्यवसायीहरु व्यापार व्यवसायको सटर बन्द गरेर सडक आन्दोलनमा उत्रिएका छन् । व्यवसायीहरुले स्थानीय सामाजिक संघ संस्था, व्यवसायिक संघ संस्था र सरोकारवाला सम्मिलित संघर्ष समिति नै बनाएर सडक आन्दोलन गरिरहेका छन् ।


