
१२ माघ, काठमाण्डौं – सत्तारूढ र सरकारबाहिरका दल गठबन्धन बनाएर भएको निर्वाचनबाट बिहीबार राष्ट्रिय सभाका १९ जना नयाँ सदस्य निर्वाचित भएका छन् ।
प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुखले दिएको मतका आधारमा सत्ता गठबन्धनका १८ र एमालेका एक सदस्य निर्वाचित भएका हुन् ।
राष्ट्रिय सभामा एक तिहाई सदस्यको दुई/दुई वर्षमा चुनाव गर्ने संवैधानिक व्यवस्थाअनुसार २० जनाको कार्यकाल २० फागुनमा सकिँदैछ । एक महिनाअघि नै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था भएकाले बिहीबार निर्वाचन भएको हो । राष्ट्रिय सभा ५९ सदस्यीय हुने संवैधानिक ब्यवस्था छ ।
बागमती प्रदेशमा ४, गण्डकी, कर्णाली र सुदूरपश्चिममा ३/३ तथा कोशी, मधेश र लुम्बिनीमा २/२ जना राष्ट्रियसभा सदस्य निर्वाचित भए । बिहीबार निर्वाचित १९ जना र राष्ट्रपतिबाट मनोनित (हुन बाँकी) एक जनाको कार्यकाल २१ फागुनदेखि सुरु हुनेछ ।
दलिय हैसियत
राष्ट्रिय सभाको नयाँ चूनावी परिणामसँगै ५९ सदस्यीय राष्ट्रिय सभामा दलहरुको आकार हेरफेर भएको छ ।
सबभन्दा ठूलो पार्टी रहेको एमाले तेस्रोमा झरेको छ । राष्ट्रियसभामा हाल एमालेका १७ सदस्य (राष्ट्रपतिबाट मनोनित डा. विमला पौडेल राई बाहेक) छन् । उनीहरुमध्ये ८ जनाको पदावधि २० फागुनमा सकिने छ । बुधबार निर्वाचित भएकी रुक्मिणी कोराइला थपिँदा एमालेसँग १० सांसद मात्र हुनेछन् ।
माओवादी केन्द्र सबभन्दा ठूलो दल बनेको छ । अहिले दोस्रो दल माओवादीसँग १५ सांसद छन् । ३ जनाको कार्यकाल सकिँदा ५ जना थपिने भएका छन् र २१ फागुनबाट १७ सांसदसहित राष्ट्रियसभाको सबभन्दा ठूलो दल हुनेछ ।
कांग्रेस दोस्रोमा उक्लिने छ । अहिले कांग्रेस १० सांसदसहित तेस्रो दल छ । चार सांसदको कार्यकाल सकिँदा १० जना थपिने छन् र १६ सिटसहित दोस्रो ठूलो दल बन्ने छ ।
एकीकृत समाजवादीका ८ सांसद छन् । दुई जना फागुनबाट बिदा हुँदै गर्दा बिहीबार नयाँ दुई जना निर्वाचित भएकाले उसको सांसद संख्या तलमाथि भएन ।
जसपाकी प्रमिलाकुमारी यादवको कार्यकाल २० फागुनमा सकिँदा बिहीबार निर्वाचित भएकी पूजा चौथरी थपिने छन् ।
राष्ट्रियसभामा राष्ट्रिय जनमोर्चाको एक सांसद छन् । सत्ता गठबन्धनमा राष्ट्रपतिबाट मनोनित विमला राई पौड्यालको स्थानमा दुर्गा पौडेललाई ल्याउने सहमति भएको छ । त्यसो भएमा जनमोर्चाका पनि दुई सांसद हुनेछन् ।
लोसपाको एक सांसद राष्ट्रिय सभामा छन् ।
नयाँ निर्वाचनको परिणाम:
- कोशी : कृष्णप्रसाद सिटौला (कांग्रेस), रुक्मिणी कोइराला ( एमाले)
- मधेश : आनन्दप्रसाद ढुंगाना (कांग्रेस), पूजा चौधरी (जसपा)
- बागमती : जीतजंग बस्नेत र विष्णुदेवी पुडासैनी (कांग्रेस), श्रीकृष्ण अधिकारी (माओवादी), घनश्याम रिजाल (एकीकृत समाजवादी)
- गण्डकी : किरणबाबु श्रेष्ठ र पदमबहादुर परियार (कांग्रेस), मनरुपा शर्मा ( माओवादी)
- लुम्बिनी : विष्णुकुमारी सापकोटा (कांग्रेस), झक्कुप्रसाद सुवेदी (माओवादी)
- कर्णाली : सावित्री मल्ल (एकीकृत समाजवादी), विष्णु विक (माओवादी), कृष्णबहादुर रोकाया (कांग्रेस)
- सुदूरपश्चिम : नारायण भट्ट र बलदेव बोहरा (कांग्रेस), रेणु चन्द (माओवादी)


