१७ माघ, काठमाण्डौं – संचार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसंचार प्राधिकरणको अध्यक्षको प्रतिष्पर्दा सिमित ब्यक्तिहरुमा मात्र गराउन सूचनामै चलखेल गरेको छ ।
मन्त्रालयले आफु नजिकका व्यक्तिलाई नियुक्ति गर्ने गरी नियमावली विपरितको मापदण्ड बनाई अरुलाई आवेदन नै दिन नमिल्ने व्यवस्था गरेको हो ।
संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको अध्यक्षतामा प्राधिकरणको अध्यक्ष चयनका लागि गठन भएको समितिले गत आईतबार प्राधिकरणको अध्यक्ष पदका लागि एक हप्ताको म्याद राखेर आवेदनको लागि सूचना प्रकासित गरेको छ । सूचनामा सरकारी सेवा वा सार्वजनिक संस्थान, प्राधिकरण, वोर्ड, समिति, आयोग प्रतिष्ठान वा सार्वजनिक कम्पनीको कर्मचारिको हकमा राजपत्राङ्कित प्रथम श्रेणी, दशौं तह वा सो भन्दा माथिको पदमाकाम गरेको अनुभवको आधारमा आवेदन दिन पाउने व्यवस्था गरेपनि स्वघोषणामा भने उक्त पद वा सोभन्दा माथिको पदमा १० वर्ष काम गरेको अनुभव हुनुपर्ने व्यवस्था गरेपछि समस्या उत्पन्न भएको हो ।
नियमावली विपरित आवेदनको स्वघोषामा दशौं तहभन्दा माथिको पदमै १० वर्षको कार्यानुभव चाहिने भन्दै सिमित व्यक्तिले मात्रै आवदेन दिन पाउने व्यवस्था गरेपछि कतै मन्त्रीले पहिल्यै अध्यक्षको लागि ब्यक्ति तयार पारी प्रकृया पुरा गर्न मात्र सूचना प्रकाशित गरिएको भन्ने नियत देखिएको छ ।
नियमावली विपरित स्वघोषणामा राखिएको उक्त बुँदाले प्राधिकरण र नेपालको टेलिकम क्षेत्रमा कार्यरत पदाधिकारीले आवेदन दिन मिल्ने बाटो नै बन्द गरिदिएको यस क्षेत्रका विज्ञहरु बताउँछन् ।
अहिले प्राधिकरणमा दशौं तहमा करिव ६ बर्ष मात्रै अनुभव बटुलेका पदाधिकारीहरु छन् । अझ यहि पदका लागि मन्त्रालयको सूचनामा टेकेर आवेदन दिन योग्य व्यक्तिहरु नेपाल टेलिकममै पनि भेटिने अवस्था छैन । मन्त्रालयले टेलिकम क्षेत्रमा हाल भईरहेको जनशक्तिभन्दा बाहिरैबाट पदाधिकारी छनोटको प्रक्रिया अघि बढाएको जानकारहरु बताउँछन् ।
मन्त्री रेखा शर्माले आफू संचार तथा सूचना प्रविधि मन्त्रालयमा नियूक्त भएपछी मन्त्रालयमा ल्याईएका एकजना ब्यक्तिलाई प्राधिकरणको अध्यक्ष बनाउन अरुलाई बन्चित गर्ने गरी सूचना जारी गरिएको मन्त्रालय स्रोतको भनाई छ । सार्वजनिक संस्था वा कम्पनीहरुमा अध्यक्ष चयनका लागि लामो समयको समयसीमा दिइएपनि प्राधिकरणका लागि जम्मा १ हप्ताको मात्रै समय दिनुलाई मन्त्रालय स्रोतले भने जस्तै कुनै अमुक व्यक्तिलाई सिधै प्राधिकरणको अध्यक्ष चयनको तयारी भएको त हैन ? भन्ने संखा उब्जाएको छ ।





