१९ माघ, काठमाण्डौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद्को आगामी हिउँदे अधिवेशनमा नयाँ संविधान अनुसारका कानून निर्माण गर्न सरकारविरुद्ध दबाब बढाउने भएको छ ।
शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले संविधानमा व्यवस्था भए अनुसारका मुख्य-मुख्य कानूनहरु नै निर्माण गर्न बाँकी रहेको भन्दै त्यस्ता महत्वपूर्ण कानूनहरु निर्माणमा आगामी अधिवेशनमा सरकारविरुद्ध दबाब बढाउने निर्णय गरेको हो ।
बैठकले सरकारले संविधान कार्यान्वयनका लागि महत्वपूर्ण कानूनहरु निर्माणमै चासो नदिएको निष्कर्ष निकाल्दै आगामी अधिवेशनमा बाँकी कानूनहरु निर्माण गर्न दबाब दिने गरी भूमिका निभाउने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले बताए । उनका अनुसार शुक्रबारको बैठकमा विगतका अधिवेशनको समीक्षा समेत भएको थियो ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीले बिगतमा खेलेको भुमिकाको समिक्षा भयो । अब हिउँदे अधिवेशनमा कस्तो भुमिका निभाउने र हामीले कस्ता मुद्दाहरु उठाउने भनेर पनि छलफल भयो,’ उनले भने, ‘सभापतिजीले लगभग एक हप्ताअघि नै सम्पूर्ण सांसदहरुलाई तीन वटा प्रश्न पठाउनुभएको थियो । ती प्रश्नहरुमा आएका जवाफहरुका विषयमा छलफल भयो ।’
संसद्को हिउँदे अधिवेशन सोमबारदेखि सुरु हुँदैछ । रास्वपाले त्यसैको तयारीका विषषयमा छलफल गर्न शुक्रबार दलको बैठक राखेको थियो ।


