१ फागुन, काठमाण्डौं – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानले काठमाडौंको भृकुटीमण्डपमा वार्षिकोत्सव कार्यक्रम गरेको छ।
कार्यक्रममा बोल्दै व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले देशमा गणतन्त्र ल्याउनु अभिशाप भएको टिप्पणी गरेका छन् ।
प्रसाईंले राजतन्त्र फ्याक्नु आफ्नै टाउको काटेर फ्याँकेजस्तो भएको बताए । यो व्यवस्था परिवर्तनको भोलिपल्ट संसारका मान्छे यो देशमा आउने वातावरण बनाइन्छ ।
उनले भने, ‘हिजो वीरे चोर देश छोड भनियो । ज्ञाने चोर देश छोड भनियो । गणतन्त्र ल्याइयो । तर, जुन दिन राजा फ्याक्यौं, यो शिर (टाउकोबाट टोपी फुकाल्दै) निकालेर फ्याँकेजस्तो भयो । आज सबैभन्दा ठूलो कुरा हामीले आफ्नो शिर काटेर फ्याँक्यौं ।’
यो राज्यबाट सबैभन्दा भिक्टिम भएको व्यक्ति आफू नै भएको प्रसाईंले बताए । ६८ सालमा आफूले सरकारबाट अनुमतिपत्र लिएर मेडिकल कलेज स्थापना गरेको तर अहिलेसम्म सम्बन्धन नपाएको उनको गुनासो छ ।
सम्बन्धनकै लागि आफू विगतमा प्रचण्ड र केपी ओलीको पछि लागेको स्वीकारोक्ति उनले व्यक्त गरे । ओली-प्रचण्डलाई मार्सी भात खुवाएर पनि केही हात नपरेको र उल्टै राज्यबाट आफू भिक्टिम बनेको उनले बताए ।


