१४ फाल्गुन, काठमाण्डौं – विभिन्न माग राख्दै प्रदर्शनमा उत्रिएका लघुवित्त पिडितहरु संसद् भवन परिसरभित्र प्रवेश गरेको घटनाका बारे छानबिन गर्न एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा तीन सदस्यीय समिति गठन भएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसएसपी मैनालीको नेतृत्वमा एसपी नवराज अधिकारी र डीएसपी दिनेश घिमिरे सदस्य रहेको समिति गठन भएको हो ।
संसद् भवन परिसरको सुरक्षामा तैनाथ भएका प्रहरीलाई छक्याएर लघुवित्त ऋणिलगायतका प्रदर्शनकारी सोमबार प्रवेश गरेका थिए । संसद्का राष्ट्रिय सभा र प्रतिनिधिसभा बैठक सकिएको केही बेरमै प्रदर्शनकारी भित्र छिरेर नाराबाजी गरेका थिए । जबर्जस्ती भित्र प्रवेश गरेका ४८ जना महिला र एक जना पुरुष पक्राउ परेका छन् । उनीहरूलाई वानेश्वर वृत्तमा राखिएको प्रहरीले जानकारी दिएको छ ।


