२७ फागुन, काठमाडौं – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्रीले धोकाधडीको राजनीति सुरु गरेको भन्दै उनले यो यहीं नटुंगिने चेतावनी समेत दिएका छन् ।
आइतबार बिहान महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका सिटौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष यस्तो रोष प्रकट गरेका हुन् ।
पार्टीको कार्यकारी पदमा समेत नबसेर शान्त तरिकाले बसिरहेको व्यक्तिलाई राष्ट्रिय सभामा ल्याएर गम्भीर धोका दिएको सिटौलाको गुनासो छ । ‘राष्ट्रिय सभाको अध्यक्ष बन्नुपर्दछ भनी सबभन्दा पहिले तपाईंले भन्नुभएको हो’, सिटौलाको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले भने, ‘तपाईंले राष्ट्रिय सभा अध्यक्ष हुँदैन भनेको भए म राष्ट्रिय सभाको सदस्य मात्रै हुने गरी उठ्ने थिइनँ ।’
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी विधेयक) का नाममा ओलीलाई बोलाउँदै नयाँ सत्ता समीकरण बनाउने काम गरेको उनको गुनासो छ ।
आफूहरुलाई कांग्रेस गठबन्धनलाई निरन्तरता दिने भन्ने, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि वार्ता गर्ने गरेको भन्दै सिटौलाले भने, ‘त्यो बेला केही पनि छैन भनिरहनुभयो । अहिले आएर ४/५ महिनादेखि केपी ओलीसँग कुरा गरिरहेको थिएँ भन्नुहुन्छ । यसरी ढाँट्ने ?
चुपचाप सिटौलाको आक्रोश सुनेका प्रधानमन्त्री प्रचण्डले गठबन्धन टुट्नुमा पुरानै कारण दिए । उनले अघिल्लो गठबन्धनको सरकारबाट नागरिकले परिणामको अपेक्षा गरेपनि त्यस अनुसार हुन नसकेको बताएका छलफलमा सहभागी एक नेताले बताए ।
प्रधानमन्त्री प्रचण्डले २१ फागुनमा गठबन्धन फेरेसँगै सिटौला राष्ट्रिय सभा अध्यक्ष बन्ने बाटो बन्द भएको छ ।
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा दुबै सहमत भएपछि राष्ट्रिय सभा अध्यक्ष बन्ने तयारीका साथ सिटौलालाई राष्ट्रियसभामा आएका थिए । ११ माघमा भएको राष्ट्रिय सभा निर्वाचनमा कोशीबाट सिटौला तत्कालिन कांग्रेस/माओवादी गठबन्धनको बलमा निर्वाचित भएका थिए ।


