३ चैत्र, महोत्तरी – राष्ट्रपति रामचन्द्र पौडेलले दलित, उत्पीडित, जनजाति, महिला, आदिवासीलगायत सबैभन्दा तल्लो तहका जनताको उत्थान नै लोकतन्त्र, गणतन्त्र र समानता भएको बताएका छन् ।
शनिबार मटिहानीमा शहिद केशव कोइरालाको प्रतिमाको अनावरण गर्दै उनले लोकतान्त्रिक सरकारले निमुखालाई न्याय र विपन्नको आयको परिलक्ष्य राखेर काम गर्नुपर्ने बताए ।
‘हामीले जनताको अधिकार स्थापित गर्ने संविधान पाएका छौँ । यसअनुसार दलित, उत्पीडित, जनजाति, महिला, आदिवासीलगायत सबैभन्दा तल्लो तहका जनताको उत्थान गर्नु छ । वास्तवमा लोकतन्त्र नै यही हो । गणतन्त्र नै यही हो, समानता भनेको पनि यही हो,’ उनले भने ।
राष्ट्रपति पौडेलले हाम्रो संविधानले निर्दिष्ट गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आयको परिलक्ष्य राखेको उल्लेख गरे । उनले संविधानमा अधिकारका विभिन्न प्रकार उल्लेख गरे पनि ती सबै अधिकारले निमुखा जनतालाई निर्वाध स्वतन्त्रता उपभोग गर्ने र उनीहरूको जीवनस्तर उकास्ने अवसर प्रदान गर्ने विषय नै संघीय लोकतान्त्रिक गणतन्त्रले बोकेको दर्शनभित्रको अन्तर्य भएको स्पष्ट पारे ।
‘राजनीतिक रुपमा जनताको सर्वोत्तम उपलब्धि ‘गणतन्त्र’ हामीले प्राप्त गरेका छौं । तर गणतन्त्रको वास्तविक अर्थ बुझ्न र त्यसलाई अनुभूत गर्न बाँकी नै छ जस्तो मलाई लाग्छ,’ उनले भने, ‘गणतन्त्र भनेको शासनमा व्यक्तिको परिवर्तनमात्र होइन, यो त जनताले राजकीय शक्तिको प्रवाहमा सामेल हुन पाउने अधिकार हो । संस्कार, संस्कृति, आनीबानी र व्यवहारमात्रै होइन, आचरणमा परिवर्तन पनि हो ।’


