४ चैत्र, काठमाण्डौं – जनमत पार्टीले प्रतिनिधि सभा समानुपातिक सांसद गोमा लाभ सापकोटालाई पदबाट हटाउन सभामुख देवराज घिमिरेलाई पत्र पठाएको छ।
पार्टी नीति र अनुशासनविपरीत काम गरेको भन्दै स्पष्टीकरण सोधेर पार्टीबाट निष्कासन गरेको जनमतले त्यसको जानकारी गराउँदै दलसम्बन्धी ऐनअनुसार सांसद पद रिक्त भएको जानकारी सभामा सुनाउन माग गरेको हो।
जनमत पार्टीले पठाएको पत्र प्राप्त भएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताए। ‘जनमतले पठाएको पत्र प्राप्त भएको छ, सभामुखज्यूले अध्ययन गर्दै हुनुहुन्छ। १५ दिनभित्र उहाँले निर्णय दिनुहुन्छ,’ उनले भने।
जनमत पार्टीले २७ फागुनमा सभामुखलाई पत्र पठाएको हो। सापकोटा महोत्तरीबाट समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी हुन्।


