१० चैत्र, काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई नैतिकताका आधारमा एक मिनेट पनि पदमा बस्ने छुट नभएको बताएका छन् ।
शनिबार बिहान काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले नैतिकताका आधारमा राजीनामा दिएर सहकारी ठगी प्रकरणको अनुसन्धानमा सहयोग गर्न गृहमन्त्री लामिछानेलाई आग्रह गरेका हुन् ।
उनले सडकदेखि संसदसम्म चौतर्फी विरोध भइरहँदा पनि पदमा बसिरहनुको पछाडि केही रहस्य त लुकेको छैन भन्ने प्रश्न उठेको बताए । ‘तत्काल राजिनामा दिएर अनुसन्धानमा सहयोग गर्न म गृहमन्त्रीजीलाई आग्रह गर्छु । अनुसन्धानपछि उहाँ निर्दोष सावित हुनुभयो भने फेरि मन्त्री हुँदा भइहाल्छ,’ उनले भने ।
नेता कोइरालाले सत्ता गठबन्धनले यति ठूलो बदमासी गरिरहँदा पनि काठमाडौंका चेतनशील मानिसहरू चुपचाप बसिरहँदा अचम्म लागेको बताए । हरेक परिवर्तनमा काठमाडौंबासीको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै कोइरालाले अबका दिनमा पनि निरन्तर खबरदारीको आवश्यकता रहेको बताए ।


