११ चैत्र, काठमाडौं – मस्को क्रोकसमा शुक्रबार आयोजित सांगीतिक कार्यक्रममा सहभागी भएकाहरूमाथि हतियारधारीले अन्धाधुन्ध आक्रमण गर्दा मृत्यु हुनेहरुको संख्या १ सय ३३ पुगेको छ ।
शनिबार साँझसम्मको रिपोर्टअनुसार घटनामा सख्त घाइते हुनेको संख्या १ सय ४० भन्दा बढी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
आक्रमणमा प्रत्यक्ष संलग्न चारसहित ११ जनालाई नियन्त्रणमा लिएको रुसको अनुसन्धान समिति (आईसीआर) ले जानकारी दिएको छ ।
कट्टरपन्थी समूह आईएसआईएससँग सम्बन्धित आईएसआईएस–केले सामाजिक सञ्जाल टेलिग्राममार्फत यो आक्रमणको जिम्मेवारी लिएको छ । यद्यपि, रुसी अधिकारीले घटनामा कसको संलग्नता थियो भन्ने अझै खुलाइसकेका छैनन् । इस्लामिक स्टेट खोरसान प्रान्त (आईएसआईएस–के) अफगानिस्तान तथा इरानमा सक्रिय समूह हो । यसअघि यो समूहले काबुलस्थित रुसी दूतावासमा पनि आक्रमणको प्रयास गरेको थियो ।


