१२ चैत्र, काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले देश र जनतालाई केन्द्रमा राखेर इमान्दारीपूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
दाहालले नियत सफा राखेर काम गर्ने कुनै पनि राष्ट्रसेवक कर्मचारीमाथि समस्या पर्न नदिने समेत प्रतिबद्धता व्यक्त गरे ।
सोमबार भएको सचिवहरूको नियमित बैठकमा प्रधानमन्त्री दाहालले कर्मचारीलाई कुनै पनि समस्या आए त्यसको जिम्मेवारी आफूले लिने बताए । ‘कार्यसम्पादन गर्दा कसैको भय र त्रासमा नपर्नु होला, कानून बमोजिम काम गर्न डराउनु पर्दैन’, प्रधानमन्त्री दाहालले भने ।
नयाँ समीकरणको सरकार थप ऊर्जा, नयाँ सोच, उद्देश्य, कार्यसूची र कार्ययोजनाका साथ आएको बताउँदै प्रधानमन्त्री दाहालले सोहीअनुरूप अगाडि बढ्न निर्देशन दिए । ‘राजनीति र प्रशासक सरकारका अभिन्न अंग हुन्’, प्रधानमन्त्रीले भने, ‘हालसम्म यहाँहरूबाट सहयोग प्राप्त हुँदै आएको छ । अझै थप जाँगर र जोसका साथ काम गर्नु हुनेछ भन्ने विश्वास लिएको छु ।’
सुशासन आफ्नो पहिलो प्राथमिकताको विषय भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘म आफू पनि राष्ट्र र कानुन विपरीतको कुनै पनि काम गर्दिन र तपाईंहरू पनि यस्तो कार्यमा लाग्नु हुने छैन भन्ने मैले विश्वास लिएको छु ।’


