१३ चैत्र, हेटौंडा – हाम्रो नेपाली पार्टी (हानेपा)ले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जम्कट्टेलको सत्ता समस्यामा परेको छ ।
हानेपाले प्रदेश प्रमुखलाई पत्र लेख्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएको छ । हानेपा संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले चैत ९ गतेदेखि सरकारलाई दिएको समर्थन फिर्ता लिएको भए पनि मंगलबार मात्र पत्र दर्ता गरेका हुन् । उनले इमेलमार्फत पत्र दर्ता गराएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । यस दलले मुख्यमन्त्रीको कार्यालयलाई पठाएको पत्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौंडा र वाग्मती प्रदेश सभा सचिवालय हेटौंडालाई समेत बोधार्थ जानकारी दिएको छ ।
हानेपा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर पार्टी (नेमकिपा) मध्ये एकको समर्थबिना मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत पाउन सक्दैनन् । राप्रपा र नेमकिपाले सरकारलाई समर्थन नदिने बताइसकेको छ ।
गत फागुन २३ मा नेपाली कांग्रेसले आफ्ना ६ जना मन्त्रीलाई फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि जम्कट्टेलाई विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था छ । १ सय १० सदस्य रहेको वाग्मती प्रदेशसभामा बहुमतका ५६ सिट आवश्यक छ ।
वाग्मती प्रदेशसभामा एमालेको २७ र माओवादीको २१ सिट छ । गठबन्धनमा एकीकृत समाजवादीको ७ सिट भए पनि गठबन्धनलाई बहुमतका लागि थप एक सिट आवश्यक पर्छ । नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ सिट छ । त्यस्तै कांग्रेसको ३७ र राप्रपाको १३ सिट छ ।



