१४ चैत्र, धनगढी – नागरिक उन्मुक्ति पार्टी (नाउपा) को सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन कायमै राख्ने भएको छ ।
संस्थापक केन्द्रीय समितिको बैठकले प्रदेशमा पनि हालको सत्ता गठबन्धनलाई समर्थन गर्ने निर्णय गरे सँगै प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन कायमै रहेको बताउँदै संस्थापक केन्द्रीय कमिटिको निर्णय स्वीकार नहुने बताए । उनले पार्टीका संरक्षक रेशमलाल चौधरी जापानबाट फर्किएपछि मात्र पार्टीले सरकारबारे निर्णय लिने जनकारी दिए ।
‘पार्टीका संरक्षक बिना बसेको अल्पमतको बैठकले गरेको निर्णय कसरी मान्ने ?’, चौधरीले भने, ‘उहाँ (रेशम) जापानबाट फर्किएपछि सरकारका विषयमा निर्णय हुन्छ । अहिले यहीँ सरकारलाई हाम्रो समर्थन रहन्छ ।’
रेशम चौधरी अहिले जापानमा रहेका बेला उनकी पत्नीसमेत रहेकी नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको बैठकले संघ र प्रदेशमा एमाले माओवादी-रास्वपासहितको गठबन्धन सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ ।


