१५ चैत्र, नवलपरासी – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संवाद यात्रालाई निरन्तरता दिएका छन् ।
बिहीबार पश्चिम नवलपरासीको प्रतापपुरको सूर्यपुरामा रहेको बीपी कोइरालाको सालिककमा माल्यार्पण गरेर संवाद यात्रा सुरु गरेका हुन् ।
संवाद यात्रा सुरु गर्दै थापाले जनताको आधारभूत आवश्यकतामा राजनीति नगर्ने विषयमा सरकार र प्रतिपक्ष दुवै सहमत हुनुपर्ने बताए ।
वर्तमान सरकार लामो समय नटिक्ने बताउँदै जनताको आधारभूत आवश्यकताको विषयमा राजनीति नगर्न आग्रह गरे । ‘अहिलेको सरकारमा सहभागी दललाई नै यो सरकार लामो समय टिक्छ भन्नेमा शंका छ,’ उनले भने, ‘राजनीतिलाई जनचाहनाअनुसार सेवा गर्ने भन्दा पनि कुर्ची र पावरमा मात्र बस्न चाहने प्रवृत्तिलाई अब जनताले स्वीकार गर्दैनन् । त्यसैले वर्तमान गठबन्धनको सरकार पनि लामो समय टिक्नेवाला छैन् ।’
यसअघि गत माघ १३ गते झापाको मेची पुलबाट सुरु भएको संवाद यात्रा माघ २२ गते नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री केशव कुमार बुढाथोकीको निधन भएपछि महामन्त्री थापाले स्थगित गरेका थिए ।


