चैत्र २१, काठमाडौं – गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार एक साताको समय दिएका छन्।
प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई चैत २७ गते अपराह्न ३ बजेभित्र मुख्यमन्त्री पदमा नियुक्ति प्रयोजनका लागि दाबी पेस गर्न समय दिएका हुन्।
प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले निकालेको विज्ञप्तिमा अर्को मन्त्रिपरिषद गठन नभएसम्म संविधानको धारा १६९ को उपधारा ३ बमोजिम अहिलेकै प्रदेश मन्त्रिपरिषदले कार्यसञ्चालन गर्ने गरी प्रदेश प्रमुखले जिम्मेवारीसमेत दिएको उल्लेख छ।
बुधबार बिहान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका पछि नयाँ सरकार गठनको प्रक्रिया अगाडी बढेको हो ।


