चैत्र २२, लुम्बिनी – लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिहीबार पदबाट राजीनामा दिएका छन् ।
चौधरीले राजनीतिक फेरबदलकै कारण राजीनामाको निर्णय लिएको बताएका छन् । केन्द्रमा नयाँ गठबन्धन बनेपछि उनी अल्पमतमा परेका थिए ।
बहुमत जुटाएर विश्वासको मत लिने प्रयास गरेका चौधरीले बहुमत नजुट्ने देखिएपछि अन्तिम समयमा प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।
सम्बोधनका क्रममा उनले संघीय संरचनाअनुसार प्रदेश सरकार फेरबदल हुने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरेका छन् । हरेक नयाँ सरकार बन्दाको दिनदेखि नै त्यो सरकारको दिनगन्ती सुरु हुने गरेको भन्दै प्रदेश आफैमा सबल र स्रोत सम्पन्न नभएसम्म संघीयता दिगो र प्रभावकारी हुन नसक्ने बताए ।
औचित्य पुष्टि गर्न नसक्दासम्म प्रदेशको विकास हुन नसक्ने उनको दाबी थियो । प्रदेशको औचित्य पुष्टि गर्न स्रोत र साधनमै पहुँच हुनु जरुरी रहेको उनले बताए । ‘प्रदेशमा हामी आफैंले कुनै पनि स्रोतको पहिचान र विकास गर्न सकेका छैनौं, मात्र मन्त्री र मुख्यमन्त्री बन्ने होडमा रमाइरहेका छौं,’ उनले भने, ‘मुख्यमन्त्रीको फोटो झुन्ड्याएर हामी रमाए पनि जनतामा चरम निराशा बढेको छ ।’ त्यसको सम्बोधन हामीले गर्न सकेका छैनौं ।
चौधरीले प्रदेश सरकारको स्थायित्वको जरुरी रहेको बताए । ‘स्थायित्व भएन भने कुनै पनि विकास र समृद्धि अघि बढ्न सक्दैन,’ उनले भने, ‘हामी जनताकोमा ठाडो शिर लिएर जाने गरी काम गर्न सकेनौं भने औचित्य पुष्टि हुनै सक्दैन ।’
उनले हरेक प्रदेशहरुमा अस्थिरताको बादल छाएको बताए । राजनीति र संघीयतामा पनि ग्रहण लागेको भन्दै उनले संघीयता धरापमा पर्ने चिन्ता व्यक्त गरे । ‘प्रधानमन्त्री फुत्त फुत्त उफ्रने प्रवृत्तिले संघीयता धरापमा पर्न सक्छ,’ उनले भने, ‘प्रधानमन्त्रीज्यू, तपाईं फुत्त फुत्त उफ्रने र यताको उता कुर्ची सार्नुभन्दा पहिला टेक्ने स्थान कहाँ हो त्यो निधो गर्नुस् ।’ फुत्तफुत्तले कहीं हामी सबैलाई डुबाउने हो कि भन्ने चिन्ताले सताउन थालेको उनले बताए ।


