२५ चैत्र, सुनसरी – सुनसरीको हरिनगर -४ लगायतका आसपासका क्षेत्रमा तीन दिनदेखि जारी प्रदर्शन हिंसात्मक बनेपछि नियन्त्रणमा लिन आइतबार प्रहरीले बल प्रयोग गरेको छ ।
अपराह्न प्रदर्शन चर्किएपछि प्रहरीले १२ राउण्ड हवाइफायर, २९ सेल अश्रुग्यास प्रहार गरेको हो । प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुंगामुडा प्रहार गर्नुका साथै घेराबन्दीमा पारेर निर्घात कुटपिट गरेका थिए । त्यस क्रममा प्रहरी नायब उपरीक्षक नबिनकृष्ण भण्डारीसहित ९ जना घाइते भएका छन् ।
प्रदर्शनकारीले सादा पोसाकमा रहेका दुई जना प्रहरीलाई निर्घात कुटपिट गरी हतियार लुट्ने प्रयास गरेका थिए । प्रहरीको साथबाट ७ राउण्ड गोली लोड भएको पेस्तोल लुटे पनि प्रहरीले बल प्रयोग गरेर फिर्ता गराउन सफल भएको जनाइएको छ । प्रदर्शनकारीले हरिनगर बजारमा रहेको एउटा घरमा तोडफोड गरेका प्रहरीले जनाएको छ ।
प्रदर्शनमा घुसपैठ तथा हिंसात्मक हुन थालेपछि सुरक्षा व्यवस्था कडा बनाइएको सुनसरी जिल्ला प्रशासनले जनाएको छ । शान्ति सुरक्षालाई मध्यनजर गर्दै सुनसरी प्रशासनले हरिनगर गाउँपालिका पूरै क्षेत्र र देवानगन्ज वडा नं १ र ७ मा कर्फ्यु आदेशलाई कायमै राखेको छ ।
अर्को सूचना नआएसम्म हरिनगर गाउँपालिका पुरै र देवानगन्ज वडा १ र ७ मा कर्फ्यु यथावत छ । प्रशासनले अन्य पालिकाहरुमा भने आंशिकरुपमा कर्फ्यु लागू हुने जनाएको छ । जिल्ला प्रशासनका अनुसार इनरुवा नगरपालिका क्षेत्र, देवानगंजको वडा २, ३, ४, ५ र ६ वडा, भोक्राहा नरसिंह गाउँपालिका क्षेत्र र कोशी गाउँपालिका क्षेत्रमा भने कर्फ्युलाई प्रशासनले केही खुकुलो बनाएको छ । यी क्षेत्रमा सोमबार बिहान १० बजेसम्म आंशिकरुपमा कर्फ्यु लागू हुने छ ।
गत बिहीबार हरिनगर गाउँपालिकामा दर्जन बढीको संख्यामा रहेको समूहले स्थानीय युवालाई मरनासन्न हुनेगरी कुटपिट गरेपछि अवस्था असामान्य बनेको हो । दुई समूहबीच भएको कुटपिटका कारण सामाजिक सद्भाव भड्कन नदिन र नागरिक जीउधनको सुरक्षाका लागि बिहीबारदेखि कर्फ्यु लगाइएको छ ।


