२३ माघ, काठमाण्डौं – राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को महासचिवमा पद्मप्रसाद पाण्डेयलाई नियुक्त गरेका छन् ।
महासचिवमा नियुक्तिअघि पाण्डेयले मंगलबार नै प्रतिनिधि सभाको सचिव पदबाट राजीनामा दिएका थिए । राष्ट्रपति पौडेलले उनको राजीनामा स्वीकृत गरेर महासचिवमा नियुक्त गरेका हुन् ।
सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गरेको सिफारिसबमोजिम राष्ट्रपति पौडेलले संघीय संसद्को महासचिवमा पाण्डेयलाई नियुक्त गरेका हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गरेर महासचिव नियुक्त भएको जानकारी गराएका छन् । ‘राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षको संयुक्त सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम रिब्दिकोट गाउँपालिका- १, पाल्पा जिल्ला निवासी पद्मप्रसाद पाण्डेयलाई मिति २०८० माघ २३ गते देखि लागु हुनेगरी संघीय संसद्को महासचिव पदमा नियुक्त गर्नुभएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।


