८ फाल्गुन, काठमाण्डौं – प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान विश्व देखिएका जातीय तनाव र आतंकवादका विभिन्न कारकहरूबाट सञ्चालित जटिल द्वन्द्वका कारण शान्ति स्थापनार्थ सैनिकहरूले खतराको सामना गर्नुपरेको बताएका छन् ।
नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा भएको बहुराष्ट्रिय सैनिक अभ्यास कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहालले सैनिक मुख्यालय जंगी अड्डाको खेलकुद मैदानमा उद्घाटन गर्दै प्रधानमन्त्री उक्त कुरा ब्यक्त गरेका हुन् ।
प्रधानमन्त्री दाहालले शान्ति स्थापना कार्यहरू जटिल राजनीतिक–सैन्य–मानवीय प्रयासका रूपमा विकसित भएको उल्लेख गदै शान्ति सैनिकले अझ धेरै बुझ्नुपर्ने र तयारी गर्नुपर्ने अवस्था आएको बताए । दाहालले भने, ‘संयुक्त राष्ट्रको शान्ति स्थापना कार्यको विश्वास र वैधानिकता कायम राख्न नयाँ जटिल चुनौतीहरूका माझ विश्वमा कसरी शान्ति प्रदान गर्ने भनेर हामीले पुनः मूल्यांकन गर्नुपर्ने भएको छ ।’
दाहालले शान्ति स्थापनाको महत्वलाई अतिरञ्जित गर्न नहुने उल्लेख गर्दै त्यसका लागि मानवताको गहिरो भावना, प्रतिबद्धता र कमजोरलाई जोगाउने हस्तक्षेप गर्ने तत्परता आवश्यक पर्ने बताए ।
विश्व शान्तिमा सहभागिता जनाउने विभिन्न १९ मुलुकका सेनाहरु सहभागी ‘अभ्यास शान्ति प्रयास–४’ मंगलबारबाट सुरु भएको छ ।


