८ फाल्गुन, काठमाण्डौं – नेकपा एमालेले पार्टीभित्र आर्थिक र नैतिक बन्धन तोड्न खोज्ने आचरण मौलाएको भन्दै यस्तो प्रवृत्तिले समग्र पाटीलाई जनताबाट अलग गर्ने खतरा पैदा भएको जनाएको छ ।
पार्टीको सातौँ केन्द्रीय कमिटी बैठकमा प्रस्तुत शुद्धीकरण र पार्टी सुदृढिकरणसम्बन्धी दस्ताबेजमा नेता कार्यकर्तामा मौलाएको आर्थिक र यौन आचरणका कारण नेता, कार्यकर्ता र समग्र पार्टीलाई नै अलग गर्ने खतरा पैदा भएको भन्दै चिन्ता व्यक्त गरिएको हो ।
‘हामीले आर्थिक सामाजिक क्रियाकलाप, यौन आचरण र नैतिक दृष्टिले गल्ती गर्नेहरुलाई सम्बन्धित कमिटीमा छलफलको कार्यसूची र कारबाहीको विषय नबनाउँदा यस्तो प्रवृत्ति प्रोत्साहित हुन पुगेको छ’, केन्द्रीय समिति सदस्यहरुलाई वितरण गरेको दस्ताबेजमा भनिएको छ ।
त्यस्तै जनताले उचित नठान्ने कामकारबाहीबाट जोगिन पनि एमालेले नेता कार्यकर्तालाई सजग गराएको छ ।
‘पाटीभित्र प्रचलित कानुन सामाजिक प्रबन्ध र नैतिकताका दृष्टिकोणले अनुचित क्रियाकलाप देखा पर्न थालेका छन् । आफूलाई अरुभन्दा विशेष ठान्ने र आफ्ना लागि विशेष व्यवस्थाको अपेक्षा गर्ने प्रवृत्ति देखा परेका छन् ’, एमालेले भनेको छ । साथै केन्द्रीय सदस्यहरुलाई पार्टीमा आर्थिक र नैतिक आचरणलाई कसरी स्वच्छ, पारदर्शी र कानुनसम्मत बनाउने भनेर प्रश्न गरेको छ ।


