११ फाल्गुन, काठमाण्डौं – राष्ट्रिय सभाका सांसदहरुले मिटरब्याज पीडितलाई न्याय दिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
शुक्रबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले मिटरब्याज पीडितहरु न्यायका लागि भन्दै पैदल हिँडेर संघीय राजधानी आइपुग्नु दुःखद् भएको भन्दै कानुन कार्यान्वयन गरेर पीडितलाई न्याय दिलाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसद तुलसाकुमारी दाहालले मिटरब्याज पीडित न्यायका लागि काठमाडौँमा आएका भन्दै त्यस सम्बन्धमा कानुन बने पनि कार्यान्वयन नहुँदा पीडितले न्याय नपाएको बताइन् । सरकारले जनताको अपेक्षाअनुसारको काम गर्न नसकेको टिप्पणी गर्दै उनले नागरिकको आवाजको पक्षमा सरकारले काम गर्न नसकेको धारणा राखिन् ।
अर्का सांसद नारायणदत्त मिश्रले सहकारी पीडितले आफ्नो बचत फिर्ता पाउन नसकेको सन्दर्भमा सरकारले दिएर भए पनि पीडितलाई न्याय दिनुपर्ने भन्दै दोषीलाई कारबाही गर्न माग गरिन् ।
साथै सांसद तुलबहादुर विश्वकर्माले पनि मिटरब्याजी पीडित न्यायका लागि काठमाडौँ आएको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराए । ‘कानूनको अभाव थियो । भर्खरै कानून पनि बनेको छ । तर कार्यान्वयन नहुँदा पीडितहरुले न्याय पाउने अवस्था बनेन,’ उनले भने, ‘पीडितहरु २५ दिनदेखि पैदल हिँडेर काठमाण्डौं आइपुगेका छन् । सरकार के गरेर बसिरहेको छ ?’


