२८ फागुन, काठमाडौं – मन्त्रिपरिषद्को सोमबारको बैठकले तीनवटा प्रदेश प्रमुखलाई पदमुक्त गरी नयाँ प्रदेश प्रमुख सिफारिस गरेको छ ।
केन्द्रमा सत्ता समीकरण परिवर्तनको एक सातालगत्तै सरकारले कांग्रेस कोटाका मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख हटाएर नयाँ सिफारिस गरेको हो ।
सरकारका प्रवक्ता रेखा शर्माका अनुसार मधेस प्रदेशमा सुमित्रा भण्डारी, गण्डकी प्रदेशमा डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशमा नजीर मियाँलाई नियुक्तिका लागि राष्ट्रपतिकहाँ सिफारिस गरिएको जानकारी दिइन् । हाल मधेस प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी छन् । उनीहरूलाई हटाएर नयाँ सिफारिस गरिएको हो ।
केन्द्रसँग प्रदेशहरूलाई समन्वय गर्नका लागि प्रदेश प्रमुख परिवर्तन गर्नुपरेको मन्त्री शर्माले जानकारी दिइन् । उनले भनिन्, ‘प्रदेश र केन्द्र सरकारका बीचमा आवश्यक समन्वय जरुरी हुन्छ । अहिले हामीले प्रदेशहरूमा देखिरहेका छौँ, कतै विश्वासको मत फिर्ता लिने, कतै मन्त्रीहरूलाई बर्खास्त गर्ने काम भइराखेको छ । त्यसकारण राजनीतिक रुपमा सरल होस्, सहज होस् र केन्द्र र प्रदेशको राजनीतिक दृष्टिकोण समान बनोस् भन्ने उद्देश्यले गरिएको हो ।’


