३० फागुन, काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा १५७ जनाको विश्वासको मत प्राप्त गरेका छन्।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा भएको मतविभाजनमा प्रधानमन्त्री प्रचण्डले पाँच दलीय गठबन्धनको समर्थनमा विश्वासको मत प्राप्त गरेका हुन्।
२ सय ६८ सांसद् उपस्थित रहेको बैठकमा प्रचण्डको पक्षमा १ सय ५७ मत पर्यो भने विपक्षमा १ सय १० मत पर्यो । एक सांसद तटस्थ रहे । बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा नियमावली १५५ बमोजिम विश्वास मतका लागि प्रस्ताव पेश गरेका थिए।
कांग्रेससँगको सहकार्य अन्त्य गर्दै प्रधानमन्त्री प्रचण्डले २१ फागुनमा एमालेसहितको पाँच दलीय गठबन्धन बनाएका थिए। गठबन्धनमा एमाले, माओवादी, रास्वपा, जसपा, एकीकृत समाजवादी छन्। प्रधानमन्त्रीलाई नागरिक उन्मुक्ति, आम जनता पार्टी, स्वतन्त्र सांसद अमरेश सिंह र योगेन्द्र मण्डलले पनि विश्वासको मत दिएका छन्।
प्रधानमन्त्रीको विपक्षमा कांग्रेस, राप्रपा, जनमत, लोसपा, नेमकिपाले मत दिए।


