९ चैत्र, काठमाडौं – सभामुख देवराज घिमिरे नेतृत्वको टोली इन्टर पार्लियामेन्ट्री युनियन (आईपीयू) को सम्मेलनमा भाग लिन बिहीबार राति स्विजरल्यान्ड प्रस्थान गरेको छ ।
आईपीयूको १४८औँ महासभामा भाग लिन राजनीतिक दलका प्रमुख सचेतकसहित १० जनाको टोली लिएर सभामुख स्विजरल्यान्ड गएका हुन् ।
आईपीयू महासभा चैत १० देखि १४ सम्म स्विजरल्यान्डको जेनेभामा हुँदै छ । सभामुखको टोलीमा प्रमुख दलका प्रमुख सचेतक सहभागी छन् । कांग्रेस प्रमुख सचेतक रमेश लेखक, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार भ्रमण दलमा छन् ।
यस्तै, राष्ट्रियसभाकी माओवादीतर्फकी सदस्य गंगाकुमारी बेलबासे, संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, संसद् सचिवालयका प्रवक्ता एकराम गिरी, सभामुख घिमिरेका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई र संसद् सचिवालयका उपसचिव प्रदीप गुरागाईं टोलीमा छन् ।
भ्रमणमा जाने भएपछि सभामुख घिमिरेले प्रतिनिधिसभा बैठक चैत १८ गतेसम्म स्थगित गरेका छन् ।


