९ चैत्र, काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मालपोत ऐन २०३४ अनुसार बाँसबारी छाला जुत्ता कारखानाअन्तर्गत च्याम्पियन फुटवेयरको नाममा दर्ता भएको १० रोपनी जग्गा सरकारको नाममा फिर्ता भएको जनाएको छ ।
शुक्रबार भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो।
मन्त्रिपरिषद्, सम्बन्धित मन्त्रालय र निकायको निर्णयबिनै सरकारी जग्गा कारखानाको नाम दर्ता भएको देखिएकाले त्यसलाई सरकारकै नाममा फिर्ता गरेर दर्ता गर्ने निर्णय भएको भूमि व्यवस्था मन्त्री बलराज अधिकारीले बताए । ‘२०४४ सालमा दुई पटक गरी १० रोपनी सरकारी जग्गा बाँसबारी छाला जुत्ता कारखाना र च्याम्पियन फुटवेयरको नाममा दर्ता भएको रहेछ । त्यसलाई फिर्ता गर्ने र उक्त जग्गा सरकारकै नाममा दर्ता गर्ने निर्णय भएको छ,’ उनले भने ।
मालपोत कार्यालयले बाँसबारीको १० रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याउने प्रक्रिया माघ अन्तिम साता सुरु गरेको थियो । त्यतिबेला च्याम्पियन फुटवेयरका नाममा २१ दिने सूचना जारी गरेको थियो । सूचनामा जग्गामा आफ्नो दाबी प्रस्तुत गर्न प्रमाणसहित उपस्थित हुन भनिएको थियो । फुटवेयरले दाबीका प्रमाण पेस गर्न नसकेपछि मन्त्रालयसँग समन्वय गरेर सरकारको नाममा जग्गा दर्ता गर्ने प्रक्रिया थालिएको मालपोत कार्यालय डिल्लीबजारका प्रमुख छविलाल नेपालीले बताए ।
कारखानाको सरकारी जग्गा हिनामिना गरेको आरोपमा सीजी होल्डिङ्सका अध्यक्ष एवं प्रबन्ध निर्देशक अरुण चौधरीलाई सीआईबीले माघ १८ मा पक्राउ गरेको थियो । उनीसँगै तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई पनि पक्राउ गरिएको थियो । उनीहरू काठमाडौं जिल्ला अदालतको आदेशमा हाजिरी जमानीमा रिहा भएका छन् ।


