२७ चैत्र, काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गरिनुपर्ने अडान राखेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
मंगलबारको बैठकमा कांग्रेस सांसदहरूले उठेर अवरोध गरिरहेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए। तर बैठक स्थगित भएको लामो समयसम्म पनि पुन: सुरू हुन सकेन।
संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना टाँसेर बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको उल्लेख गरेका छन्।
सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समितिको अडान राखिरहेको छ। मंगलबार बिहान बसेको कांग्रेस संसदीय दल बैठकले पनि सहकारी प्रकरणमा लाखौं बचतकर्ता ठगिएकोले संसदीय छानबिन समिति गठन गरिनुपर्ने निर्णय गरेको थियो।


