२७ चैत्र, काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार काठमाडौंमा गरेको प्रदर्शनमा १८ जना घाइते भएका छन् ।
निषेधित क्षेत्र तोडेर अघि बढ्ने क्रममा झडप हुँदा १८ प्रदर्शनकारी घाइते भएको प्रहरीले जनाएको छ । उनीहरू सबैको अवस्था भने सामान्य रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयकाले जानकारी दिएको छ ।
त्यसैगरी ढुङ्गामुढा गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । उनीहरूलाई अभद्र व्यवहार कसूरको मुद्दा चलाउने प्रहरीको तयारी छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गणतन्त्र र धर्मनिरपेक्षताको विरोधमा प्रदर्शन भएको थियो । सरकारसमक्ष पेश गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले काठमाडौं केन्द्रित प्रदर्शन गरिएको राप्रपाको भनाइ छ ।


